Monday, December 21, 2015

सरकारको ‘न्यानो उपहार’ भूकम्पपीडितले कसरी पाउँदैछन् ? सिन्धुपाल्चोकलाई भन्दा धादिङलाई १० करोड बढी, सबैभन्दा कम मकवानपुरमा


७ पुस, काठमाडौं । भूकम्पपीडित जनतालाई जाडो छल्नका लागि घोषणा गरिएको ‘न्यानो राहत’ को प्याकेज भूकम्प प्रभावित जिल्लामा प्राथमिकताअनुसार वितरण हुन थालेको छ । भूकम्प प्रभावित १५ जिल्लाका पीडितले १० हजार रुपैयाँका दरले ‘न्यानो राहत’ पाउने छन् ।
प्रधानमन्त्री ओली स्वयंले रसुवाको लाङटाङका पीडितलाई वितरण गरेर शुरु भएको न्यानो राहत भूकम्प अति प्रभावित १४ जिल्लाका चिसो बढी हुने गाउँहरुबाट वितरण थालिएको छ । पीडितहरुलाई न्यानो कम्बललगायतका सामान किन्नका लागि १० हजार रुपैयाँ दिने घोषणाअनुरुप करीव २५ अर्ब रुपैयाँ स्थानीय विकास मन्त्रालय मार्फत निकासा भएको छ ।
सबैभन्दा बढी ८० करोड रुपैयाँ धादिङ जिल्लाका पीडितका लागि निकासा भएको छ । सबैभन्दा कम मकवानपुरमा ६ करोड रुपैयाँ निकासा भएको छ ।
earthquake
सिन्धुपाल्चोक भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको जिल्ला हो । जसमा ७० करोड निकासा भएको छ । सिन्धुपाल्चोकभन्दा कम क्षति भएको धादिङमा १० करोड बढी रकम गएको छ ।
क-कसले पाउँछन् १० हजार ?
न्यानो राहत पाउनका लागि यसअघि १५ हजार राहत पाएको र पूर्ण रुपमा घर क्षति भएको हुनुपर्नेछ ।सरकारले हिमाली क्षेत्रका पीडितका लागि पहिलो प्राथमिकता दिएर रकम वितरण गर्न जिल्ला प्रशासनहरुलाई निर्देशन दिएको छ ।
रेडक्रसले १० हजार नगद र सहयोग गरेको ठाउँमा भने सरकारी पैसा वितरण हुने छैन ।
न्यानो राहत हात पार्नका लागि नयाँ पीडितहरु खडा हुन थालेकाले पूरानो परिचयपत्रका आधारमा मात्रै रकम वितरण हुनेछ । कतिपय जिल्लामा भने वास्तविक छुटेका पीडितलाई पनि वितरण गर्ने संयन्त्र बनाइएको स्थानीय प्रशासनले बताएको छ ।
सरकारले निकासा गरेको रकम सबै जिल्लामा पुगिसकेको छ । ती जिल्लाहरुमा कसरी यो रकम वितरण हुँदैछ भनेर अनलाइनखबरले सोधीखोजी गर्दा यस्तो पाइयो :
धादिङमा ८० करोड
सिन्धुपाल्चोकभन्दा धनजनको क्षति धादिङमा आधा कम छ । तर, पीडितहरुको संख्या धेरै देखाइएकाले सबैभन्दा धेरै रकम धादिङमै पुगेको छ ।
धादिङमा न्यानो राहतका लागि ८० करोड रुपैयाँ प्राप्त भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले अनलाइनखबरलाई बताए ।
न्यानो राहतको दश हजार रकम सोमवारदेखि वितरण शुरु भइसकेको सुवेदीले बताए । जँहा बढी समस्या परेको छ त्यहाँ सब भन्दा पहिला बाँड्ने भन्ने नीतिअनुसार गाविसको खातामा पैसा पठाइएको उनले बताए ।
सिन्धुपाल्चोकमा ७० करोड
अधिकांश जिल्लामा रकम वितरण भइरहे पनि सिन्धुपाल्चोकमा भने शुरु भएको छैन । त्यहाँ प्रमुख जिल्ला अधिकारी गोकर्ण दवाडी भर्खरै हाजिर भएकाले अब वितरण शुरु हुनेछ । ७० करोड मध्ये हिमाली क्षेत्रबाट वितरण शुरु हुनेछ ।
नुवाकोटमा ५८ करोड
नुवाकोट जिल्लामा ७४ करोड चाहिनेमा ५८ करोड निकासा भएको छ । मंसिर २७ गतेदेखि नै माथिल्लो लेक क्षेत्रका गाविसमा पीडितहरुलाई धमाधम वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
विदूर नगरपालिका र बेसी क्षेत्रका चार गाविसमा दोस्रो चरणमा वितरण गरिनेछ ।
दोलखामा ५० करोड
दोस्रो ठूलो भूकम्पको केन्द्रबिन्दू बनेको र ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको दोलखामा ५० करोड निकासा भएको छ । तर, ८५ करोड चाहिनेमा ५० करोडमात्र गएको भन्दै जिल्लामा वितरण हुन सकेको छैन ।
काभ्रेमा ५० करोड
काभ्रेपलान्चोक जिल्लाका भुकम्प पीडितहरुका लागि सरकारले पहिलो चरणमा ५० करोड रुपैयाँ पठाएको छ । त्यहाँका तीन गाविसमा रेडक्रसले १० हजार नगदसहित न्यानो कम्बल वितरण गरिसकेको छ ।
बाँकी गाविस र नगरका लागि वितरण गर्न गाविस सचिवलाई खातामा पैसा पठाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अनलाइनखबरलाई जानकारी दिए ।
रामेछापमा ४८ करोड
रामेछापमा न्यानो राहतका लागि ४८ करोड रुपैयाँ निकासा भएको छ । यसबीचमा रेडक्रसले ठोसे र डडुवा गाविसमा वितरण गरिसकेको छ भने अन्य गाविसमा रकम पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
गाविसको खातामा रकम गइसकेकाले गाविस परिषद सकिएका ठाउँमा वितरण शुरु भएको उनले बताए । चाहिए जति रकम नआएकाले भरपर्दो रोजागरी, राम्रो आयस्रोत भएका र आवश्यक नभएकाले १० हजार नलिन आह्वान गरिएको पौडेलले बताए ।
यो आह्वान स्वीकार गर्दै पहिलो चरण बाँडिएका दुई गाविसका एक सयभन्दा बढी पीडितले सो रकम लिएनन् ।
काठमाडौंलाई ४५ करोड
भूकम्प पीडितलाई न्यानो राहतका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई ४५ करोड रुपैयाँ निकासा भएका छ । निकासा भएको रकम चारवटा नगरपालिकाहरुमा वितरण भइरहेको र अन्यमा वितरण हुने क्रममा रहेको जिल्ला प्रशासन कार्यालयको भूकम्प सम्बन्धी विषय हेर्ने उपसचिव नरबहादुर खड्काले जानकारी दिए ।
गोरखामा ४० करोड
विनाशकारी भूकम्पको पहिलो केन्द्रविन्दू बनेको गोरखामा ४० करोड रुपैयाँ पुगिसकेको छ । तीन वटा गाविसमा रेडक्रसले वितरण गरेको छ । बाँकीमा धमाधम वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धब तिम्सिनाले जानकारी दिए ।
गोरखामा यसअघि १५ हजार राहत वितरणकेा बेला पनि रेडक्रस लगायत गैर सरकारी संस्थाले वितरण गरेको ठाउँमा सरकारी राहत नबाँडी ६० करोड रुपैयाँ बचाएर केन्द्रमा पठाइएको थियो ।
ललितपुरमा २७ करोड
ललितपुरमा न्यानो राहतका लागि २७ करोड रुपैयाँ निकासा भएको छ । सोमध्ये २२ करोड रुपैयाँ उपमहानगर, नगर र गाविसको खातामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले अनलाइनखबरलाई जानकारी दिए ।
प्रजिअ आफैंले गत विहीवार ललितपुर उपमहानगरको २३ नम्बर वडाबाट रकम वितरणका शुरुवात गरेका हुन् । रेडक्रस लगायतका संस्थ्ााले बाँडेको ठाउँमा नदोहोरिने गरि रकम बाँडिएको उनले बताए ।
भक्तपुरमा २० करोड
भक्तपुर जिल्लाका भूकम्प पीडितहरुका लागि न्यानो राहतका लागि २० करोड रुपैयाँ निकासा भई धमाधम वितरण भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी तोयम रायाका अनुसार सोमवार बिहानसम्म १२ हजार पीडितलाई १० हजारका दरले रकम वितरण भइसकेको छ । भक्तपुर नगरपालिकामा कार्यकारी प्रमुख नभएका कारण नगरपालिकाभित्र भने वितरण भएको छैन ।
भक्तपुर जिल्ला गाविसविहीन भएकाले नगरपालिकाका वडा कार्यालयबाट रकम वितरण भइरहेको छ ।
सिन्धुलीमा १४ करोड
भित्री मधेस जोडिएको अर्को जिल्ला सिन्धुलीमा न्यानो राहतका लागि १५ करोड रुपैयाँ पुगेको छ । सोमवारसम्म १५ सयभन्दा बढी पीडितलाई १० हजारको दरले राहत वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिएका छन् । सिन्धुलीले केन्द्रसँग कुल २२ करोड मागेको थियो ।
ओखलढुंगामा १० करोड
ओखलढुंगा जिल्लामा न्यानो राहतका लागि १० करोड रुपैयाँ पुगेको छ । प्राप्त भएको रकम सबै गाविसका खातामा राखिसकेको र गाविस सचिवहरुमार्फत वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।
सोमवारसम्म करीव १६ सय पीडितले राहत पाइसकेका छन् । ओखलढुंगामा रेडक्रसले ५ वटा गाविसमा रकम बाँड्नेछ ।
रसुवामा ८ करोड
भूकम्पले ठूलो क्षति पुगेको रसुवा अत्यधीक जाडो हुने हिमाली जिल्ला पनि हो । त्यहाँ ८ करोड रुपैयाँ निकासा भएर ४ हजार भन्दा बढीलाई वितरण पनि गरिसकिएको सांसद जनार्दन ढकालले बताए । यसको शुरुवात प्रधानमन्त्री ओलीले लाङवटाङ गाविसबाट गरेका थिए ।
सोलुखुम्बुमा ७ करोड
उच्च हिमाली जिल्ला सोलुखुम्बुमा न्यानो राहतका लागि ७ करोड रुपैया पुगेको प्रमुख जिल्ला अधिकारी कष्णप्रसाद शर्माले जानकारी दिए । अबको १५ दिनभित्र सबै पीडितको हातमा दश हजार रुपैयाँ उपलव्ध गराउने लक्ष्य राखेर काम भइरहेको उनले बताए ।
मकवानपुरमा ६ करोड
भित्री मधेससमेत जोडिएको मकवानपुर जिल्लामा भूकम्प पीडितका लागि ६ करोड रुपैयाँ निकासा भएकोमा हालसम्म १५ गाविसमा वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।
न्यानो राहत वितरण पुस ३ गते भैंसे गाविसबाट शुरु भएको थियो । मकवानपुरको हकमा १५ सय मिटरमाथि उचाइका गाउँमा यो रकम वितरण हुनेछ ।

No comments:

Post a Comment