कपिल ज्ञवाली
२८ मंसिर, बुटवल । नयाँ शक्ति निर्माणका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार आउने बताएका छन् । मुलुकको असहज परिस्थितिले नयाँ शक्तिलाई पार्टीमा रुपान्तरण गर्न केही ढिलाई हुनेसमेत उनले बताए ।
भट्टराईले मुलुकको असहज परिस्थितिलाई समाधान गर्न आफू संवेदनशील रहेको बताए । उनले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले मधेस आन्दोलन ४ महिनासम्म जारी रहँदा पनि समाधान निस्कन नसक्दा मुलुकको अर्थतन्त्र चौपट भएको र जनजीवन कष्टकर भएकाले छिटो समाधान निकाल्न आफूले सहयोग गर्ने बताए ।
सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरी छिटो निकास दिन गम्भीर नभएको भन्दै भट्टराईले यही अवस्था लम्बिँदै गए स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिए ।
मधेसी मोर्चा, थरुहट, आदिवासीलगायतका माग र आन्दोलनलाई आन्तरिकरुपमै वार्ता गरेर समाधान गर्नुपर्नेमा जोड दिँदै भट्टराईले विदेशीलाई दोष लगाएर समाधान ननिस्कने प्रष्ट पारे ।
भट्टराईले मधेसी मोर्चालाई पनि दिल्लीसँग नभई नेपाल सरकार र यहाँका दलसँग वार्ता गरेर सहमतिमा पुग्न आग्रह गरे ।
No comments:
Post a Comment