२८ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा एमालेले मधेस आन्दोलनका क्रममा मधेसी मोर्चाले एमालेलाई मधेसबिरोधी भनेर चलाएको भ्रम चिर्न दुई महिने मधेस अभियान शुरु गरेको छ ।
चितवनको सौराहामा गत साता भएको भेलाले गरेको निर्णयबमोजिम एमालेका शीर्षनेताहरु अभियान सञ्चालन गर्न तराई मधेस झरेका हुन् ।
बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, सत्रुघ्न महतोसहितको टोली मधेस पसेको हो ।
आज सोमबार बाराको सिमरामा बारा र पर्सा जिल्लाका एमाले कार्यकर्ताहरुको भेला आयोजना गरिएको बाराका एमाले नेता मनोज पौडेलले बताए ।
भेलामा दुबै जिल्लाका क्षेत्रीय कमिटीसम्मका कार्यकर्ताहरु सहभागी हुने र पार्टीको मधेस नीतिबारे नेताहरुले प्रशिक्षण दिने केन्द्रीय सदस्य तथा सांसद बलबीर चौधरीले बताए ।
भेलालाई माधवकुमार नेपाल, नागेन्द्र चौधरीलगायतका नेताहरुले सम्बोधन गर्ने छन् । दुबै जिल्लाको केन्द्र भएकाले सिमरामा कार्यक्रम आयोजना गरिएको चौधरीले बताए ।
त्यस्तै मंगलवार र बुधवार सर्लाहीमा एमालेका मधेसी युवा कार्यकर्ताहरुको भेला आयोजना गरिएको छ । युवा संघ केन्द्रीय कमिटीको आयोजनामा भएको भेलामा करीव ४ सय मधेसी कार्यकर्ता सहभागी हुने युवा संघका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए ।
दुई दिने युवा भेलाकेा सम्पूर्ण तयारी पूरा भएको र सर्लाहीको हरिवनमा तराई मधेसका जनतालाई भेला गरेर जनसभा मार्फत एमालेको नीति सार्वजनिक गरिने सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष राजिव पहारीले बताए ।
मधेसी युवा भेलालाई सम्बोधन गर्न बरिष्ठ नेता नेपाल, महासचिव ईश्वर पोखरेलसहितका मधेसी नेताहरु सर्लाही पुग्न लागेको पहारीले जानकारी दिए । यसलगत्तै मधेसका गाउँ गाउँमा अभियान चलाइने उनले बताए ।
अब लगातार हुलाकी राजमार्ग दक्षिणका मधेस बस्तिमा अभियान सञ्चालन गरिने पोलिटब्यूरो सदस्य महतोले बताए । यसअघि महासचिव ईश्वर पोखरेल पश्चिम तराईका जिल्लामा कार्यकर्ता भेला गरेर फर्किएका छन् ।
No comments:
Post a Comment