Monday, December 21, 2015

नेपालले बंगबन्धु गोल्डकप खेल्ने


पुस ६, २०७२- नेपाली राष्ट्रिय टिमले बंगलादेशले जनवरीमा आयोजना गर्ने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
‘नेपाललाई बंगबन्धु गोल्डकपमा सहभागी हुनका लागि निमन्त्रणा आएको थियो । हामीले खेल्ने पक्का भइसक्यो,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘त्यो प्रतियोगिता नेपालको राष्ट्रिय टिमले खेल्नेछ ।’ जनवरी ८–१८ मा ढाका र सिलेटमा हुने बंगबन्धु गोल्डकपलाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रूपमा पनि लिइएको उनले बताए । फेब्रुअरी ६–१६ मा भारतले आयोजना गर्ने सागमा यू–२३ टिमले खेल्नेछ । अहिलेका अधिकांश खेलाडी त्यही उमेर समूहका छन् ।
बंगबन्धु गोल्डकपको चौथो संस्करणमा आयोजक बंगलादेशले राष्ट्रिय टिम र यू–२३ तथा नेपाल, माल्दिभ्स, श्रीलंका, कोलम्बिया, मलेसिया र बहराइन गरी आठ टिम सहभागी हुने बंगलादेशी मिडियाले जनाएको छ । नेपाल, माल्दिभ्स र कम्बोडियाको राष्ट्रिय टिम सहभागी हुने पक्का भएको पनि डेली स्टारले बंगलादेश फुटबल फेडेरसनलाई उद्धृत गर्दै आफ्नो अनलाइनमा लेखेको छ । उसका अनुसार मलेसिया र बहराइनले उमेर समूह वा राष्ट्रिय टिम पठाउनेछन् ।
यसअघि नेपालले सन् १९९९ मा भएको बंगबन्धु गोल्डकपको दोस्रो संस्करणमा सहभागिता जनाएको थियो । दीपक अमात्य कप्तानीको नेपाली टिम घाना ओलम्पिक टिमसँग १–१ र उज्वेकिस्तानसँग ०–१ ले हारेपछि समूह चरणबाट बाहिरिएको थियो । त्यसबेला ‘जापान लिग–११’ च्याम्पियन भएको थियो । विभिन्न देशका उमेर समूह र राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्दै आएको बंगबन्धु गोल्डकप १९९६ र २०१५ मा मलेसिया यू–२३ ले जितेको थियो ।



No comments:

Post a Comment