२८ मंसिर, काठमाडौं । डिभोक ओरिजीको अतिरिक्त समयको गोलको मदतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेष्टब्रोमसँग बराबरी खेलेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल र वेष्टब्रोमले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा हारिसकेको खेललाई बराबरी गरेपछि लिभरपुलका प्रशिक्षक र खेलाडीहरुले निकै खुसी मनाएका छन् ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले २१ औं मिनेटमा हेन्डरसनको गोलबाट अग्रता लिएको थियो । तर, ३० औं मिनेटमा क्रेग डोसनले बराबरी गोल फर्काए र पहिलो हाफ बराबरीमा सकियो ।
दोस्रो हाफमा वेष्टब्रोमले अग्रता लियो । उसका लागि ७३ औं मिनेटमा जोनस ओल्सनले गोल गरे । ७९ औं मिनेटमा लाभ्रेनको स्थानमा ओरिजी मैदान प्रवेश गरे ।
लगातार वेष्टब्रोममाथि दबाव कायम राखेको लिभरपुलका लागि ओरिजीले अतिरिक्त समयमा गोल गरे र टीमलाई हारबाट जोगाए ।
खेल सकिए लगतै लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले टीमका सबै सदस्यलाई मैदानमा बोलाए र खुसी मनाएका छन् । यो सेलिब्रेसन कुनै उपाधि जिते भन्दा कम थिएन । क्लोपले भने एन्फिल्डको माहौल निकै निकै राम्रो रहेकाले समर्थकहरुलाई धन्यवाद दिन सेलिब्रेसन गरेको बताएका छन् ।
बराबरीसँगै लिभरपुल २४ अंकसहित नवौं स्थानमा छ र शीर्ष चारका लागि पाँच अंकले पछाडि छ ।
No comments:
Post a Comment