७ पुस, काठमाडौं । के तपाई माथिल्लो तामाकोशीमा साधारण सेयर हाल्न पैसा तयार पारेर बस्नुभएको छ ? यदि छ भने तपाईले २ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण सेयर भर्न अझै एक वर्ष पर्खिनुपर्ने भएको छ ।
भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना निर्माण अवरुद्ध भएपछि ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको तामाकोशी आयोजनाको साधारण सेयर निष्काशनको मिति पनि एक वर्षपछि धकेलिएको हो ।
‘सामान्य अवस्था भएको भए आयोजनाले यतिखेर सर्वसाधारण सेयर निष्काशन गरिसकेको हुने थियो,’ आयोजनाका प्रवक्ता गणेश न्यौपानेलेअनलाइनखबरसँग भने- ‘तत्कालैदेखि नियमितरुपमा इन्धन पाउने हो भने विद्युत उत्पादन र साधारण सेयर निष्काशनको मिति एक वर्षपछि धकेलिएको संसोधित अनुमान छ ।’
०७२ मंसिरभित्रै सर्वसाधारण सेयर निस्काशन गरिसक्ने र ०७३ भदौसम्ममा विद्युत उत्पादन गरिसक्ने लक्ष्यका साथ आर्थिक वर्ष ०६७/०६८ मा आयोजनाको निर्माण कार्य सुरु भएको थियो । भूकम्प आउनुअघि अर्थात ०७१ चैत मसान्तसम्म आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको थियो ।
आयोजनाले सर्वसाधारणका लागि २ अर्ब ४० करोड रुपैयाँ बराबरको आइपीओ निस्काशन गर्नेछ । आयोजनाको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँको २५ प्रतिशत साधारण सेयर निष्काशन गरिने प्रवक्ता न्यौपानेले बताए । जसमध्ये १० प्रतिशत स्थानीय -दोलखाबासी) र १५ प्रतिशत देशभरका सर्वसाधारणका लागि हो ।
भूकम्पले आयोजनाको ब्लक इन्टेक १८ सेन्टिमिटर भासिएको थियो । भासिएको ठाउँमा ग्राउटिङ (सिमेन्टको लेदो बनाएर भासिएको ठाउँमा जमिनमुनि पठाई ‘हाइ फोर्स’ गरी कृत्रिम बाँध बनाउने) गर्न विज्ञहरुले सुझाएका थिए ।
विज्ञहरुको सुझाव अनुसार नै इन्धन पाउनेवित्तिकै पहिला ड्रिलिङ (छेड्ने/खोप्ने कार्य) सुरु गर्ने र त्यसपछि ग्राउटिङ काम थालिने प्रवक्ता न्यौपानेले बताए ।
त्यसैगरी भूकम्पले विद्युतगृह रहेको गोंगरदेखि सिंगटीसम्मको १७ किलोमिटर बाटोमा यातायात अवरुद्ध गरेको थियो । इन्धन अभावका कारण अझै बाटोको अवरोध पूर्णरुपमा हटाउन नसकिएको न्यौपानेले बताए ।
कूल ३५ अर्ब २० करोड रुपैयाँ लगात लाग्ने अनुमान गरिएको आयोजना नेपालीकै लगानीमा निर्माण गर्न लागिएको हो । नेपाली लगानीकर्ता आफैंले निर्माण थालिएको यो सबैभन्दा ठूलो विद्युत अयोजना पनि हो ।
इन्धन नै पाइएन
सरकारले राष्ट्रिय प्राथमिकताका आयोजना र सबै जलविद्युत आयोजनाहरुलाई इन्धनको अभाव हुन नदिने घोषणा गरेको छ । तर, लोडसेडिङ न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने तामाकोशी आयोजनाले नै इन्धन पाएको छैन ।
‘आयोजनालाई हप्तामा १२ हजार लिटर इन्धन आवश्यक रहेको भन्दै सरकारसँग माग गरेका थियौं । तर, अहिलेसम्म सरकारले ६ हजार लिटरमात्रै इन्धन उपलब्ध गराएको छ ।’ प्रवक्ता न्यौपानेले भने- ‘इन्धन अभावका कारण काम अगाडि बढाउन सकिरहेका छैनौं ।’
दशैंलगत्तै निर्माण कार्य थाल्ने कम्पनीको योजना भए पनि आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध हुन नसक्दा निर्माण कार्य सुचारु हुन नसकेको हो ।
एक वर्षमै लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेको केपी ओली सरकारले यही पुस महिनाभित्रै उर्जा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको छ । तर, निर्माणधानी आयोजनाहरुलाई कसरी छिटोभन्दा छिटो पूरा गर्ने भन्नेतर्फ भने सरकारले व्यवहारिक कदम भने चाल्न सकेको छैन ।
No comments:
Post a Comment