Sunday, December 20, 2015

सीमांकनलाई थाती राखेर निकास निकालौं : नेपाल '६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत'



Madhav-Nepal
  • फाइल तस्वीर
६ पुस, बुटवल । नेकपा एमालेका नेता माधवकुमार नेपालले जारी राजनीतिक संकट समाधानका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य जरुरी भएको बताएका छन् । ६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत भएकाले संकट गहिरिएको भन्दै उनले सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्ने धारणा राखे ।
रुपन्देहीको बुटवलमा प्रेस चौतरी नेपालले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संविधान कार्यान्वयनका लागि पनि कांग्रेससँगको सहकार्य आवश्यक रहेको बताए । सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव चाँडो पारित गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
‘कहिले कांग्रेस र त कहिले मधेसी मोर्चाको अबरोधका कारण रोकिएको संविधान संशोधन प्रस्ताव पारित गर्न बिलम्व गर्नु हुँदैन,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत थियो अब सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्छ ।’
आन्दोलनरत मधेसी मोर्चाले भने सीमांकनविना संविधान संशोधन गर्न लागिएको भन्दै विरोध गर्दै आएको छ ।
भारतसँगको सम्बन्ध सुधार्नुपर्नेमा पनि नेता नेपालले जोड दिए । ‘भारतसँगको सम्बन्ध सामान्यीकरण गर्दै न्यानो बनाउनुपर्छ,’ नेता नेपालले भने, ‘नाकाबन्दी खुलाउन सरकारले कुटनीतिक प्रयास बढाउनु पर्छ ।’

No comments:

Post a Comment