Monday, December 21, 2015

मल कारखाना अध्ययन जिम्मा ३ कम्पनीलाई


पुस ६, २०७२- लगानी बोर्डले रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको जिम्मा तीन कम्पनीलाई दिएको छ ।
बोर्डले भारतको दुई र नेपालको एक कम्पनीसँग सम्भाव्यता अध्ययनको सम्झौता गत शुक्रबार गरेको छ । बोर्डद्वारा जारी विज्ञप्तिअनुसार भारतको इन्फास्टक्चर डेभलपमेन्ट कर्पोरेसन, इन एसोसियसन विथ इन्स्टिट्युसन अफ एग्रिकल्चर टेक्नोलोजिस्ट र नेपालको शाह कन्सल्ट इन्टरनेसनल प्रालिसँग संयुक्त रूपमा सम्झौता भएको हो । सम्झौताअनुसार कम्पनीले करारमा हस्ताक्षर गरेको मितिबाट १२ महिनाभित्र विस्तृत अध्ययनको अन्तिम प्रतिवेदनका बोर्डको कार्यालयमा बुझाउनुपर्ने छ ।
‘करारअन्तर्गत कम्पनीले रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता, स्थापना भए पश्चातको आर्थिक तथा वित्तीय लाभ विश्लेषण, उपयुक्त प्रविधि, रोजगारी सिर्जना तथा वातावरणीय प्रभाव मूल्यांकनलगायत विषयमा अध्ययन गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।
बोर्डका एक अधिकारीले जनाएअनुसार अध्ययनको लागत खर्च भने सरकारले बेहोर्ने छ । करिब २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल नेपालमा मल कारखाना छैन । भारतबाट आयात गरी प्रयोग गर्ने गरिएको छ ।
‘नेपालको सार्वजनिक खरिद ऐनअनुसार मल कारखाना स्थापनाका लागि टेन्डर आहवान गरेर यी कम्पनीहरू संयुक्त रूपमा छानिएका हुन्,’ बोर्डका अधिकारीले भने, ‘दुई वर्ष अघिबाट प्रक्रिया सुरु गरिएको थियो ।’ सन् १९८४ मा जापनी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि रायासनिक मल कारखाना  विषयमा प्रारम्भिक अध्ययन गरेको थियो ।
‘अध्ययनको जिम्मा पाएका कम्पनीले वार्षिक ५ लाख टन रायासनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्नुपर्ने छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक ५ लाख टन मलको माग छ । यसमध्ये वार्षिक ३ लाख टनसम्म मल आयात हुने गरेको छ ।



No comments:

Post a Comment