६ पुस, काठमाडौं । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुँदा प्रायः सबै सडक निर्माण आयोजनाको काम प्रभावित भएका छन् । जलविद्युत आयोजनासहित सबै विकासे आयोजनाको काम रोकिएका बेला सडक विभागअन्तरगत सञ्चालित अधिकांश आयोजनामा पनि इन्धनको अभावले काम रोकिएको हो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म सडक विभागले मुस्किलले १० प्रतिशत बजेट खर्च गरेको प्रवक्ता उमेश झाले बताए । यो वर्ष विभागले ४० अर्ब रुपैयाँ बराबरको बजेट पाएको छ । अहिलेसम्म विभागले ४ अर्ब रुपैयाँ मात्र खर्च गरेको जनाएको छ ।
‘सुदूरपश्चिम र पूर्वाञ्चलमा केही आयोजनाहरु सुचारु छन् । त्यसबाहेक अन्त कतै पनि काम अघि बढ्न सकेको छैन’ प्रवक्ता झाले भने- ‘अहिले प्रभावित नभएका आयोजना नै छैनन् । एक-दुई वटा आयोजनामा बल्लतल्ल काम भएको हो ।’
यसका कारण मर्मत आयोजनाहरुमा ठूलो प्रभाव नपरेपनि ठूला निर्माण आयोजनाहरुको निर्माण अवधि लम्बिन सक्ने विभागको अनुमान छ । नाकाबन्दीपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर दक्षिण राजमार्गको निर्माण कार्य लगायतका आयोजना पूर्ण रुपमा ठप्प छन् ।
यसैगरी काठमाडौंको कलंकी-कोटेश्वर सडक विस्तार आयोजना, मुग्लिन-नारायणगढ सडक विस्तार आयोजनासहित विभिन्न पुल निर्माण आयोजनाहरु पनि तेलको अभावका कारण रोकिएर बसेका झाले बताए ।
‘अब निर्माणको काम सुरु हुने मुख्य समय हो, अझै यस्तै अवस्था कायम रहिरहे सडक निर्माण आयोजनामा ठूलो असर पर्नेछ’ प्रवक्ता झाले भने-‘तेल सहजरुपमा नपाएसम्म काम थाल्न निर्माण व्यवसायीलाई पनि अप्ठेरो छ । कन्ट्रयाक्टरहरुलाई स्थिति सहज नभएसम्म काम थाल्न दबाव दिन पनि नसकिने अवस्था छ ।’
यो वर्ष विभागले ७ सय किलोमिटर सडकको स्तरोन्नति गर्ने, ८ सय किलोमिटर नयाँ कच्ची सडक विस्तार गर्ने, ८ सय ५० किलोमिटर अद्यावधिक र ९ हजार २ सय किलोमिटर नियमित मर्मतसम्भार गर्ने योजना बनाएको छ ।
यस्तै १ सय २५ वटा पक्की पुल निर्माण गर्ने जिम्मा पनि सडक विभागको काँधमा छ । तर, तेल अभावले आयोजनाहरुको काम प्रभावित भएका छन्
No comments:
Post a Comment