Sunday, December 13, 2015

पोखराको प्याराग्लाइडिङ बन्द

२०७२ मंसिर २७ गते १२:३६ मा प्रकाशित
Pokhara paraglaiding (1)
  • फाइल तस्वीर
२७ मंसिर, काठमाडौं । पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ बन्द गरिएको छ । पाइलटले उडान अनुमति शुल्क नबुझाएको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखराले प्याराग्लाइडिङमा रोक लगाएको हो ।
क्यानका कर्मचारीले उडानका लागि सराङकोट पुगेका पाइलट तथा पर्यटकलाई फर्काएको छ । क्यानले उड्न नदिएपछि प्याराग्लाइडिङ बन्द भएको पाइलट प्रकाश गुरुङले अनलाइनखबरलाई बताए । पाइलटले क्यानलाई प्रतिमहिना ९ हजार ४० रुपैयाँ शुल्क बुझाउनुपर्छ ।
‘हाम्रो नियमावलीमा प्याराग्लाडिङ पाइलटले फ्लाइट प्रमिसन शुल्क बझाएर मात्र उडान गर्नुपर्ने व्यवस्था छ,’ क्यान पोखरा कार्यालयका अनुप जोशीले भने, ‘उहाँहरुले शुल्क बुझाउन आनकानी गरिरहनुभएको छ, हामीले शुल्क नबुझाउनेलाई रोकेका हौं, शुल्क बुझाउनेलाई रोकेका छैनौं ।’
प्याराग्लाइडिङका पाइलटहरुले शुल्क महंगो भयो भन्दै विगतदेखि असन्तुष्टि जनाउँदै आएका थिए । क्यानको केन्द्रीय कार्यालयमा आएरसमेत उनीहरुले शुल्क घटाउन तत्कालिन महानिर्देशकलाई आग्रह गरेका थिए ।
पर्यटनमा धक्का
क्यानले एक्कासी अनुगमनको नाममा पाइलट र पर्यटकलाई फर्काएको प्याराग्लाइडिङ व्यवसायी बसन्त दवाडीले बताए । ‘संस्थागत जानकारी नै नगराई एक्कासी पाइलटहरुलाई फर्काउने काम भयो,’ उनले भने- ‘यसले पोखराको पर्यटनमा थप धक्का लागेको छ ।’
प्याराग्लाइडिङका लागि स्वदेशी विदेशी पाइलटका साथ पर्यटकहरु पोखरा पुगेका थिए । पोखरा पुगेर प्याराग्लाइडिङको मज्जा लिएर फर्किने पर्यटकको धोको हुन्छ । मुलुकको पर्यटन सुस्ताएको बेलामा अलिअलि भएका पर्यटकलाई पनि उडाउन नपाउँदा खिन्न भएको पाइलट गुरुङले बताए ।
‘आज पर्यटक प्याराग्लाइडिङ गर्न आएका छन्, आजको दिन उडाउन दिनुस्, भोलिदेखि बन्द गर्छौं भन्दा पनि क्यानका कर्मचारीले मानेनन्,’ पाइलट गुरुङले भने ।
पोखरामा व्यवसायीक रुपमा प्याराग्लाइडिङ गराउँदै आइरहेका पाइलटहरु नेपाली ११० जना रहेको र त्यत्तिकै संख्यामा विदेशी समेत रहेको गुरुङले जानकारी दए ।

No comments:

Post a Comment