Sunday, December 13, 2015

नाकाबन्दीपछि आयल निगमले कति तेल भित्र्यायो ? व्यवस्थापन लथालिङ्ग, निगमलाई कालोबजारियाको चुनौती

२०७२ मंसिर २७ गते ११:५४ मा प्रकाशित
  61  2  0
रविन्द्र घिमिरे
२७ मंसिर, काठमाडौं । नाकाबन्दीपछि इन्धनको हाहाकार भएका बेला नेपाल आयल निगमकै अधिकारीहरु तेलको कालोबजारीको आरोपमा मुछिए । कालोबजारीपछि केही डिपो प्रमुखहरु काठमाडौं तानिए ।
तेल वितरण अपारदर्शी भएको निश्कर्ष निकाल्दै वितरणको तालिका बनाउने अधिकार अहिले वाणिज्य मन्त्रालय आफैंले खिचेको छ ।
Nepal Oil Corporation (NOC)
तेल वितरण सहज र पारदर्शी किन भएन भन्ने प्रश्नमा निगमका सबै अधिकारीहरुको जवाफ हुन्छ- ‘यति थोरै मात्रामा आएको तेललाई व्यवस्थापन कसरी गरियो भनेर सोध्नुस् न बरु ।’
नाकाबन्दीपछि कति भित्रियो तेल ?
असोज ६ गतेदेखि नेपालमा नाकाबन्दी सुरु भयो । नाकाबन्दीपछि (मंसिर २३ गतेसम्म) नेपालमा सात करोड ४७ लाख ४४ हजार लिटर डिजेल र पेट्रोल भित्रियो ।
नाकाबन्दीपछि नेपालमा आउने तेलको परिमाण निकै घटेको छ । तापनि आयात अनुसार वितरण पारदर्शी नभएको गुनासो सर्वत्र छ ।
निजी सवारीलाई तेल नदिएको अवस्थनमा सार्वजनिक सवारीले पनि सहज रुपमा तेल हाल्न पाएका छैनन् ।
फेरि सरकारी सवारीलाई तेल पाउन खासै गाह्रो छैन । यसबीचमा नै तेल वितरणको प्रमुख जिम्मेवारी लिएकाहरु नै कालोबजारीमा मुछिएपछि आशंकाहरु जन्मिएका छन् ।
नाकाबन्दीको यो अवधिमा झण्डै १ करोड ८३ लाख ७९ हजार लिटर पेट्रोल आयो भने ५ करोड ६३ लाख ६५ हजार लिटर डिजेल आएको आयल निगमको तथ्याङ्कले देखाएको छ । यो अवधिमा मट्टीतेल ९ लाख २० हजार लिटर भित्रियो ।
असोज महिनाको रेकर्ड हेर्ने हो भने नेपालमा झण्डै २ करोड ६४ लाख लिटर तेल भित्रियो । जसमा पेट्रोल ७६ लाख ७८ हजार लिटर थियो भने डिजेल करोड ८७ लाख ७० हजार लिटर डिजेल नेपाल भित्रिएको थियो । असोजमा ३ लाख लिटर मट्टीतेल पनि नेपाल आएको थियो ।
कात्तिक महिनमा २ करोड ६४ लाख ७५ हजार लिटर डिजेल/पेट्रोल नेपाल आयो । पेट्रोल ६१ लाख १३ हजार लिटर मात्र भित्रियो भने डिजेलको परिमाण २ करोड ३ लाख ६२ हजार लिटर थियो । कात्तिक महिनामा मट्टीतेल ३ लाख ६८ हजार लिटर मट्टीतेल नेपाल आएको तथ्याङ्कले देखाउँछ ।
नाकाबन्दीपछिको तेल आयातको सूची
 तेलको प्रकारअसोजकात्तिकमंसिर (२३ गतेसम्म)जम्मा (लिटर)
डिजेल (लिटर)१,८७,७०,०००२,०३,६२,०००१,७२,३३,०००५,६३,६०,०००
पेट्रोल (लिटर)७६,७८,०००६१,१३,०००४५,८८,०००१,८३,७९,०००
मटितेल (लिटर)३००,०००३६८,०००२५२,०००९,२०,०००
स्रोतः आयल निगम
मंसिरको २३ गतेसम्म भारतबाट २ करोड १८ लाख २१ हजार लिटर डिजेल/पेट्रोल आइसकेको देखिएको छ । जसमा १ करोड ७२ लाख ३३ हजार लिटर डिजेल र ४५ लाख ८८ हजार लिटर पेट्रोल छ । मंसिर महिनामा २ लाख ५२ हजार लिटर मटितेल भित्रिसकेको छ ।
निगमको व्यवस्थापन लथालिङ्ग
गत मंसिर ३ गते ना ४ ख ७१४५ नम्बरको ट्यांकरमा नेपाल आयल निगमको भलबारी डिपोबाट कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा स्वयम्भूको हामा आयल नाममा १२ हजार लिटर तेल चलान भयो । तर, त्यो तेल कालोबजारीको प्रयोजनको भएको खुलेपछि नवलपरासीमा प्रहरीले त्यसलाई नियन्त्रणमा लियो ।
नाकाबन्दीपछि भलवारी डिपोले बन्द रहेको एक सिमेन्ट उद्योगको नाममा पनि तेल वितरण गरेको खुलिसकेको छ ।
यस्तै विभिन्न घटनामा संलग्न रहेको भेटिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्का सञ्चालक समितिबाट कारवहीका लागि सिफारिस भएका छन् ।
क्षेत्रीय डिपोले विभिन्न पम्पका नाममा त्यसैगरी तेल बेचेर कालोबजारी गरेको पाइएपछि निगमका ३ जना डिपो प्रमुख काठमाडौं तानिएका छन् ।
नाकाबन्दीका समयमा निगमका उच्च अधिकारी कालोबजारीमा लागेका यस्तै किसिमका धेरै घटनाहरु सार्वजनिक भए ।
आयल निगमले पर्याप्त तेल स्टक नभएको भन्दै तेल वितरणमा निकै अंकुश लगाएका बेला संस्थागतरुपमा कालोजारी भएको भन्दै आलोचना अहिले पनि भइरहेको छ ।
नाकाबन्दीपछि निजी सवारीले तेल नपाएको झडै ३ महिना बित्यो भने सार्वजनिक सवारीले पनि सहजरुपमा तेल पाएका छैनन् । तुलनात्मक रुपमा सरकारी सवारीलाई हाइसञ्चो छ ।
झन पहुँचवाला र मोटो रकम खर्चिनेहरुले आयल निगमबाटै तेल पाएको कुरा लुकेको छैन ।


No comments:

Post a Comment