Sunday, December 13, 2015

भूकम्पको बीमा दाबी: ३६ प्रतिशतमात्रै भुक्तानी कुन बीमा कम्पनीले कति भुक्तानी दिए ?

२०७२ मंसिर २७ गते ११:१६ मा प्रकाशित
 20  2 
  0
२७ मंसिर, काठमाडौं । भूकम्प गएको सात महिना वितिसक्दा पनि बीमा कम्पनीहरुले कूल बीमा दाबीको ३६.२३ प्रतिशत मात्रै भूकम्प पीडितलाई भुक्तानी गरेका छन् । बाँकी दाबीको भुक्तानी अहिलेसम्म वीमा कम्पनीहरुले दिन मानेका छैनन् ।
nayabajar-earthquake-1
भूकम्पसँग जोडिएका १७ अर्ब ९६ करोड रुपैयाँ बराबरको माग दाबी परेकोमा मंसिर तेस्रो सतासम्ममा बीमा कम्पनीहरुले ६ अर्ब ५० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको बीमा समितिले जनाएको छ ।
भूकम्पले क्षति पुर्‍याएको भन्दै साढे १७ हजार दाबी परेका थिए । छानविन गर्दा १२ हजार दाबी मात्रै भुक्तानीका लागि योग्य देखिएका छन् भने बाँकी ३५ सय दाबी भुक्तानीका लागि अयोग्य ठहरिसकेका छन् ।
गत बैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले क्षति भएका संरचनाहरुको बीमा दाबी भुक्तानीमा ढिलाइ भएको हो ।
बीमा समितिले भूकम्पको कारण भएको क्षतिको दाबी भुक्तानी द्रुत मार्गवाट गर्न सवै बीमा कम्पनीहरुलाई पटक-पटक निर्देशन दिए पनि दाबी भुक्तानीमा ढिलासुस्ती भएको हो ।
समितिले सार्वजानिक सूचना नै प्रकाशित गरेर भुकम्प सम्बन्धि दाबीमा कुनै समस्या भए सम्पर्क गर्न आह्वान गरेको थियो ।
अझै करिब ३ हजारको हाराहारीमा दाबीको सर्वे रिपोर्ट आउन बाँकी रहेकाले दाबी भुक्तानीमा ढिलाइ भएको सरोकारवालाहरुले बताएका छन् ।
वास्तविक क्षतिभन्दा बढी रकमको दाबी गर्ने प्रबृत्तिका कारण पनि दाबी भुक्तानीमा ढिलाइ भएको बीमकहरुले बताउँदै आएका छन् ।
कुन बीमा कम्पनीले कति भुक्तानी दिए ?
हालसम्म सवैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले कूल दाबीको ९२ प्रतिशत भुक्तानी गरिसकेको छ । ६६ करोड ६० लाख रुपैयाँ बराबरको दाबी परेकोमा ६० करोड ९४ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।
सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले छ । एभरेष्टले आफ्नो कम्पनीमा परेको कूल दाबीको १०.२६ प्रतिशतमात्रै भुक्तानी गरेको छ । २६ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म २ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय बीमा कम्पनीले १८ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेकोमा अहिलेसम्ममा ३ करोड ९६ लाख रुपैयाँ बराबरको मात्रै भुक्तानी गरेको छ । सो कम्पनीले दाबीको करिब २२ प्रतिशत छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले दाबी रकमको ७९ दशमलब १४ प्रतिशत भुक्तानी गरेको छ ।
दि ओरियन्टल इन्स्योरेन्सले २४ दशमलब ४५ प्रतिशत र नेशनल इन्स्योरेन्स कम्पनीले ४५ दशमलब २७ प्रतिशत भुक्तानी गरेको छ ।
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले ३६ दशमलब २९ प्रतिशत भुक्तानी गरेको छ भने पि्रमियर इन्स्योरेन्स कम्पनीले २०.७८ प्रतिशत रकम दाबी भुक्तानी गरेका छन् ।
त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनीले दाबीको ५२.८७ प्रतिशत र सगरमाथा इन्स्योरेन्स कम्पनीले ४४.७३ प्रतिशत भुक्तानी गरेको छ ।
प्रडेन्सीय इन्स्योरेन्स कम्पनीले ४१ प्रतिशत भुक्तानी गरेको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३३.५७ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सले २९.५३ प्रतिशत भुक्तानी गरेको छ ।
त्यस्तै एनएलजी इन्स्योरन्सले २५.२९ प्रतिशत भुक्तानी गरेको छ । प्रभु इस्योरेन्स कम्पनीले २४.३५ प्रतिशत रकम दाबी भुक्तानी गरेको बीमा समितिले जनाएको छ ।

No comments:

Post a Comment