Thursday, December 10, 2015

संविधान जारी गर्दा भारतलाई चिढ्याएकै हो, अब चिढ्याउनु हुँदैन : पौडेल 'ओलीलाई प्रधानमन्त्री बनाएर प्रचण्ड पछुताए'

२०७२ मंसिर २४ गते १४:०० मा प्रकाशित
 62  6 
  0

Ramchandra-Poudel-at-Pokharसन्देश श्रेष्ठ

२४ मंसिर, पोखरा । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले छिमेकीको कुरा नसुनी संविधान जारी गरेर नेपालले दक्षिणलाई चिढ्याएको स्विकारेका छन् ।
नेपाली कांग्रेस कास्कीको आयोजनामा विहीबार पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान जारी गर्दा पहिलो पटक चिढ्याएको स्वीकार गर्दै अब फेरि चिढ्याउन नहुने बताए ।
उनले भने, ‘हो, हामीले संविधान जारी गर्दा भारतलाई पहिलोपटक चिढ्याएकै हो, तर अब मधेसको माग सम्बोधन गर्दा दोस्रोपटक चिढ्याउनु हुन्न ।’
उपसभापति पौडेलले कांग्रेसले ल्याएको संसोधन प्रस्ताव नै समस्याको समाधानको आधार हुने बताए । आन्दोलनरत मधेसी दलहरुले कांग्रेसको प्रस्तावबाट सन्तुष्ट नरहेको बताए पनि केही यताउता गरेरै भएपनि अन्ततः यहि प्रस्ताव नै समाधानको आधार हुने उनको दाबी थियो ।
प्रचण्ड पछुताए
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर एक वर्षपछि पछुताएका एमाओवादी अध्यक्ष प्रचण्ड केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर एक महिनामै पछुताएको पौडेलले दाबी गरे । मधेसी नेताहरुसँगको भेटमा प्रचण्डले ओली मधेस विरोधी रैछन् भन्दै स्विकारिसकेको उनको भनाई थियो ।
कांग्रेसमा अन्य दलको प्रोपोगाण्डामा वैतरणी तर्ने र आत्मरतिमा रमाउने चरित्र हावी भएको समेत टिप्पणी गर्दै उपसभापति पौडेलले अब यस्तो पाराले अन्य दलसँग प्रतिष्पर्धा गर्न नसकिने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको हालत विचित्रको छ, अरुको प्रोपोगाण्डामा वैतरणी तर्ने र आत्मरतिमा रमाउने चरित्र पार्टीमा हावी हुँदै गएको छ, यो समाप्त नगरेसम्म अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिन्न ।’
संस्थापन र देउवा पक्षलाई मिलाउने दाबी
आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका पौडेलले कार्यकर्तालाई नेताको मूल्याङ्कन गर्न आग्रह गरे । उनले भने, ‘नेताले कार्यकर्ताको उचित मूल्याङ्कन गर्नुपर्छ, तर कांग्रेसमा त्यो हुनै छाडेको छ । त्यसैले कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्नुपर्छ, अनिमात्र सक्षम नेता नेतृत्वमा आएपछि कार्यकर्ताको पनि उचित मूल्याङ्कन हुन्छ ।’
उनले आफूलाई कुन कार्यकर्ता कस्तो हो भन्नेबारेमा सम्पूर्ण जानकारी भएको बताउँदै आफूले त्यसको मूल्याङ्कन गर्ने बताए ।
पौडेलले पार्टीमा विभाजनको रेखा अहिलेसम्म पनि कायम रहेको भन्दै यसलाई मेटाउन भागवण्डा अन्त्य गर्नुपर्ने बताए । पार्टीलाई एकाकार गर्न सभापति पदमा आफ्नो उम्मेद्वारी आवश्यक रहेको घुमाउरो पारामा संकेत गर्दै उनले भने, ‘संस्थापन र देउवा पक्षलाई मिलाएर लैजान मेरो आवश्यक्ता छ ।’

No comments:

Post a Comment