Thursday, December 10, 2015

उपत्यकाबासीले हिटर र इन्डक्सन चुल्हो बाल्न जानेनन् (भिडियोसहित) कृपया विद्युतको लोड नबढाइदिनोस् !

२०७२ मंसिर २३ गते १०:४२ मा प्रकाशित
 3984  9 
  2
mukesh raj kafle (2)
  • मुकेश काफ्ले, प्रवन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेश काफ्लेले राजधानीबासीहरुले हिटर र इन्डक्सन चुल्हो बाल्न नजानेका कारणले पनि उपत्यकामा विद्युत संकट देखिएको र ट्रान्सर्फमर पड्किएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौंमा कहिल्यै नदेखिएको विद्युत संकट किन आइरहेको छ भन्ने अनलाइनखबरको प्रश्नमा प्रवन्ध निर्देशक काफ्लेले अनलाइनखबरसँग भने- हिटर र इन्डक्सन चलाउन नजानेका कारण पनि समस्या उत्पन्न भइरहेको छ । ५ सय वाटले हुने काम २ हजार वाटमा जोड्ने प्रचलन पनि छ । एउटा घरमा ७ वटा फ्ल्याट छन्, एकैपटक सबैकहाँ हिटर र इन्डक्सन जोडेपछि समस्या सिर्जना भएको हो ।’
काफ्लेले भने- ‘उपभोक्तासँग मेरो एउटा आग्रह छ, आफूलाई अत्यावश्यक पर्नेबाहेक अन्य विद्युतीय सामाग्री प्रयोगमा ल्याएर कृपया विद्युत लोड नबढाइदिनुहोस् ।’ उपत्यकामा विद्युत संकट उत्पन्न हुनुको कारण र त्यसको समाधानका लागि विद्युत प्राधिकरणले गरिरहेको कामबारे निर्देशक काफ्लेसँग अनलाइनखबरले गरेको कुराकानी यस्तो छ:
एकातिर घरमा ग्याँस छैन, अर्कातिर बिजुली छैन । कतिपय स्थानमा त लगातार ४/५ दिनसम्म बिजुली आउन छाडेको छ । आएको बिजुलीको पनि भोल्टेज कम भएकाले राइस कुकर चल्दैन । उपत्यकाबासीले कहिलेसम्म यस्तो सास्ती भोग्नुपर्ने हो ?
अहिले हामी सबैको प्राथमिकता दुई छाक कसरी खाने भन्नेमा केन्द्रित भएको छ । त्यसैले जनताको जनजीबन सामान्य गर्न र बिहान-बेलुका जनताको घरमा चुलो निभ्न नदिन विद्युत प्राधिकरण सहयोगी हुन्छ भनेर सेड्यूलअनुसार बत्ती सप्लाइ गरिसकेका छौं ।
तर, कतिपय उपभोक्ताले तीन दिनसम्म बत्ती नपाएको किन ?
अहिले के देखियो भने काठमाडौं उपत्यकाभित्रको वितरण प्रणाली यो किसिमको संकट समाधान गर्नेगरी डिजाइन गरिएको रहेनछ भन्ने कुराको अहिले हामीले महसुस गरिरहेका छौं । अहिले मैले प्राधिकरणको नेतृत्व गरिरहेको छु । विगतमा संस्थाको नेतृत्व गर्नेहरुले यसमा ध्यान नदिएको देखिन्छ ।
अहिले काठमाडौंको पिक आवरमा बिजुलीको माग कति हो ?
आजभोलि काठमाडौंको पिक आवरको माग ४ सय ५० मेगावाट हो । लोड बढ्ने कुरा त सामान्य हो । तर, यतिसम्म बढ्यो कि फिडरले नै काम गरेन । सामान्य अवस्थाको भन्दा अहिले काठमाडौं उपत्यकाको विद्युतको माग तीन गुणाले बढेको छ । टायरमा हावा बढी भएपछि त पन्चर भैहाल्छ नि । यस्तो संकटको सामना गर्ने किसिमका संरचना चै हामीले बनाएका रहेनछौं । विद्युत पाइएन भन्ने जनताको गुनासो सुरुमा निकै बढी थियो, बिस्तारै यस्तो गुनासो कम गर्दै लगिरहेका छौं ।
अहिले कति विद्युत आपूर्ति भइरहेको छ ?
सामान्य अवस्थामा त्यस्तै ३ सय मेघावाट जति होला ।
ट्रान्सर्फमरले नथामेको कि ? किन राजधानीमा विजुलीको यो हालत भइरहेको हो ?
ट्रान्सर्फमरले मात्रै होइन, कन्डक्टरले पनि थामेको छैन । संयोगले अहिले हामीसँग ट्रान्सर्फमर र कन्डक्टरको कमी छैन । तर, हामीलाई काम गर्न पनि त इन्धन चाहिन्छ नि । इन्धन उपलब्ध गराउन आयल निगमलाई कति चिठी लेखिसक्यौं । तर, निगमले हामीलाई इन्धन उपलब्ध गराएको छैन ।
जब राज्यको प्राथमिकता विद्युत हो भने एक ट्यांकर इन्धन प्राधिकरणलाई व्यवस्थापन गर्न सकिँदैन र ? आयल निगमका लागि १२ हजार लिटर पेट्रोलियम पदार्थ कुन ठूलो कुरो हो र ? राज्यका लागि कुनै ठाउँमा कुनै समय लोडसेडिङ हुन नदिन वा बढी विद्युत आपूर्ति गराउनु पर्‍यो, हामी हामी त सक्छौ नि ।
विद्युतको सहज वितरणमा प्राधिकरण असफल भएकै हो त ?
अहिले एकैपटक ठूलो एरियामा यो समस्या आएकाले हामीलाई व्यवस्थापन गर्न केही कठिन मात्रै भएको हो । यही समस्या बर्षायाममा भएको भए हामीलाई खासै कठिन हुँदैन थियो । नाकाबन्दी पनि सुख्खायाममै, विद्युतको माग बढी हुने पनि सुख्खायाममै । सबैले भन्छन् नि ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युत वितरणको संरचना अत्यन्तै कमजोर हुँदा यो परिस्थिति आएको हो कि ? यसबाट विगतमा हाम्रो राज्यले कस्तो संरचनाको निर्माण गरेछ भन्ने कुराको पुष्टि भएको छ । तर, अब यस्तो समस्या आउन नदिन प्राधिकरणले के-कस्ता योजना अघि सारेको छ ?
हाम्रो संरचना अत्यन्तै कमजोर भनेर मात्रै बुझ्नुहुँदैन । हरेक चिजको आफ्नो क्षमता हुन्छ, १० केजी भार थेग्नेलाई २० केजीको भार बोकाइयो भने स्वभाविकरुपमा समस्या सिर्जना हुन्छ । यो विश्वव्यापी तथ्य पनि हो । अहिले हामीकहाँ भएको पनि यही हो ।
हामीले दुई सय केभी क्षमताका ट्रान्सर्फमर राख्यौं । सामान्य अवस्थामा यो पर्याप्त थियो । काठमाडौंका जनताले नाकाबन्दी भएपछि मात्रै बिजुली बालेका त हैनन् नि, त्यसअघि पनि बाल्थे त । अरु सबै अवस्थामा दुई सय केभीको ट्रान्सर्फमरले धानेको अवस्था थियो । इन्धन संकट भएपछि हामीले चार सय केभीको ट्रान्सर्फमर राख्यौं, त्यसले पनि धानेन । अहिले विद्युतको माग कतिधेरै बढेछ भन्नेकुरा यसैबाट पुष्टि हुन्छ । हामीले उपभोग गर्ने विद्युतको लोड नै यति धेरै बढेर गयो कि त्यो थेग्नै सकेन ।
भिडियो हेर्नुहोस्
उपत्यकामा अहिलेसम्म कति ट्रान्सर्फमरहरु पडि्कए ?
काठमाडौंमा जम्मा २ हजार ट्रान्सर्फमर छन्, जसमध्ये दैनिक ८/१० वटा ट्रान्सर्फमरहरु बिग्रिने गरेका छन् । बिगि्रएका सबै ट्रान्सर्फमरहरु कामै नलाग्ने अवस्थामा हुँदैनन् । हाम्रो वर्कसप पनि छ, हामी बनाएर फेरि सञ्चालनमा ल्याउछौं ।
के हामीसँग ट्रान्सफरमरकै अभाव भएको हो ?
हामीसँग पर्याप्त ट्रान्सर्फमर छन् । दुई वर्षअघि भइदिएको भए हामीसँग ट्रान्सर्फमर फेर्न नै कठिन हुन्थ्यो । ट्रान्सर्फमरभन्दा पनि कन्डक्टर जल्ने मूख्य समस्याको रुपमा आइरहेको छ । यद्यपि ठूलो दुर्घटना भने भएको छैन ।
तपाईहरुले थाहा पाएको कति समयमा बिगि्रएका ठाउँमा नयाँ ट्रान्सर्फमर हालिदिनुहुन्छ ?
हामीसँग जति पनि ट्रान्सर्फमर छन्, जुनसुकै बेला काम गर्ने जनशक्ति छ । त्यसैले संभव भएसम्म थाहा पाउनेवित्तिकै रिप्लेस गर्ने काम गरिरहेका छौं । तर, इन्धन नभएका कारण आवत-जावत गर्न नै समस्या उत्पन्न भएको छ । हेटौंडाबाट नयाँ ट्रान्सर्फमर ल्याउनुपर्‍यो भने गाडीमा तेल छैन । तेल माग्दा गैरजिम्मेवार जवाफ आउँछ ।
उपभोक्तासँग मेरो एउटा आग्रह छ, आफूलाई अत्यावश्यक पर्नेबाहेक अन्य विद्युतीय सामाग्री प्रयोगमा ल्याएर कृपया विद्युत लोड नबढाइदिनुहोस् । उपभोक्ता सचेत भए भने पनि समस्या समाधान गर्न केही सजिलो हुन्छ ।
हिटर र इन्डक्सन चलाउन नजानेका कारण पनि समस्या उत्पन्न भइरहेको छ । ५ सय वटाले हुने काम २ हजार वाटमा जोड्ने प्रचलन पनि छ । एउटा घरमा ७ वटा फ्ल्याट छन्, एकैपटक सबैकहाँ हिटर र इन्डक्सन जोडेपछि समस्या सिर्जना भएको हो ।
ट्रान्सर्फमहरु पडि्कएपछि मात्रै फेरिरहनुभएको छ कि नपड्किएका ठाउँमा पनि बढी भोल्टेजको रिप्लेसमेन्ट गरिरहनुभएकेा छ ?
नबिगि्रएका ठाउँमा पनि रिप्लेसमेन्ट गरिरहेका छौं । यो समस्या एकैचोटि आएकाले मात्रै ठूलो देखिएको हो ।
उपभोक्ताले कहिलेदेखि यस्तो समस्या भोग्नुपर्दैन ?
हामीचाहिँ नाकाबन्दीको शैलीमा जस्तो आजै समाधान हुन्छ, भोलि भैहाल्छ भनेर भन्न सक्दैनौं । नाबाबन्दी खुल्नेवित्तिकै स्थिति सहज भइहाल्छ । सबै उपभोक्ताले राइस कुकर मात्रै प्रयोग गरेको अवस्थासम्म यो समस्या आउँदैन । तर, जब सबै उपभोक्ताले एकैचोटि जोड्नुभएले समस्या उत्पन्न भएको हो ।
विगतमा कम गुणस्तरका ट्रान्सर्फमर र फिडर जोडेका कारण अहिले जनताले सास्ती भोग्नु परेको हो कि होइन ?
पहिले कम गुणस्तरका ट्रान्सफरमरको समस्या थियो । तर, पछिल्लो समयमा गुणस्तरीय ट्रान्सर्फमर जोडेका छौं । सडकमा चाहिनेभन्दा भन्दा गाडी गुडे भने ट्राफिक जाम हुँदैन र ? बाटोमा पहिरो गयो भने बाटो अवरुद्ध हुँदैन र ? अहिले विद्युतको वितरणमा पनि यही भएको हो ।
एशियाली विकास बैंकको आर्थिक सहायतामा प्रसारण लाइन सुधारको कार्यकम नै सञ्चालन गरिरहेका छौं । आगामी दुई वर्षभित्र काठमाडौं उपत्यकाको विद्युत प्रसारणलाइनको अवस्थामा धेरै सुधार भइसकेको हुनेछ ।
तर, प्रसारणलाइन निर्माणमा देखिएको समस्याले त्यो उत्पादित बिजुली वितरण गर्न नसकिने समस्या पनि त छ नि ?
अब सरकारले प्रसारण लाइनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । म प्राधिकरणको प्रमुख भएको एक वर्ष भयो, मैले प्रसारणलाईन निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु ।
निजी क्षेत्रलाई उत्पादनमा आकषिर्त गर्नुपर्छ । जलासययुक्त आयोजना महंगो हुने हुँदा त्यस्ता आयोजनाहरु सरकारले नै बनाउनु पर्छ । अब सरकारले धेरै साना, रन अफ दि रिभर आयोजनामा हात हालेर काम छैन ।
वर्षौदेखि रोकिएका तीनवटा प्रसारण लाइन निर्माणले गति लिएका छन् । दश वर्षदेखि रोकिएको खिम्ती-ढल्केबर प्रसारण लाइन मैले सुरु गरेँ । अहिले खुर्कोट खण्डको काम सकिएको छ ।
५/७ वर्षदेखि रोकिएको मातातीर्थ हेटौंडाको आज बिहानदेखि सुरु भएको छ । यसको काम अब पाँच दिनमै सम्पन्न हुन्छ । दुई वर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । माग १० प्रतिशतले बढ्छ ।
अहिले सरकारले उर्जा संकटकाल लगाउने भनिरहेको छ, उर्जा संकटकाल प्रसारण लाइनसँग बढी केन्द्रित छ । हामी आशाबादी हुनुपर्छ ।
जनताले कहिलेसम्म आश मात्रै गरिरहने ?
विगतमा गफ गरेर जनतालाई आशावादी बनाउने काम मात्रै गरियो । त्यसैले अब काम गर्नुपर्छ । राज्य संयन्त्रमा बस्ने मान्छेहरुले आफ्नो जिम्मेवारी के हो त्यो बुझ्नुपर्‍यो, कुरा कम, काम बढी गर्नुपर्‍यो ।

No comments:

Post a Comment