Thursday, December 10, 2015

विमानस्थलको ‘ग्राउन्ड हृयान्डलिङ’ निजी क्षेत्रलाई दिने तयारी निगमका अधिकारी भन्छन्- कमिसनको चलखेल सुरु भयो

२०७२ मंसिर २४ गते ११:१८ मा प्रकाशित
 112  4 
  0
TIA Domestic Airlines
२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमबीच ‘ग्राउन्ड हृयान्डलिङ’ सेवाको विषयलाई लिएर पुनः विवाद सुरु भएको छ । विमानस्थल व्यवस्थापनले ग्राउन्ड हृयान्डलिङमा निगमको विकल्प खोज्नुपर्ने बताएपछि विवाद सुरु भएको हो ।
निगमले आफुले दिइरहेको ग्राउन्ड हृयान्डलिङ सेवामा सुधार भइरहेको बताउँदै आएको छ । तर, विमानस्थल महाप्रबन्धक देवआनन्द उपाध्यायले भने निगमको सेवा राम्रो नभएको आरोप लगाएका छन् ।
मंगलबार विमानस्थल निरीक्षण गर्न पुगेका मन्त्री आनन्दप्रसाद पोखरेललाई उपाध्यायले ग्लोबल टेन्डरबाट प्रतिस्पर्धी कम्पनी भित्र्याउन सुझाव दिए ।
ग्राउन्ड हृयान्डलिङ सेवाका लागि निगमसँग भएको सम्झौता अवधि सकिनै लाग्दा महाप्रबन्धक उपाध्यायको यस्तो धारणा आएको हो । निगमका अनुसार ग्राउन्ड हृयान्डलिङको सम्झौता सकिन करिव ६ महिना बाँकी छ ।
निगमले वाषिर्क दुई अर्ब ८० करोड रुपैयाँमा ग्राउन्ड हृयान्डलिङ सेवाको सम्झौता गरेको छ । यसमध्ये साढे १२ प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्छ ।
ग्राउण्ड ह्याण्डिलिङ सेवाअन्तरगत जहाजमा यात्रु चढ्ने र ओराल्नेदेखि लिएर विमानसम्मको यातायात, लगेज व्यवस्थापन आदि पर्दछन् ।
यसअघि पनि ग्राउन्ड हृयान्डलिङको विषयमा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विवाद चुलिएको थियो ।
‘ग्लोवल टेन्डर आहृवान गरी ग्राउन्ड हृयान्डलिङका लागि कम्पनी छनौट गर्नुपर्छ’ महाप्रबन्धक उपाध्यायले भने- ‘अनुभवी अन्तर्राष्ट्रिय कम्पनीलाई ग्राउन्ड हृयान्डलिङको जिम्मा दियौं भने सेवा धेरै हदसम्म राम्रो हुन्छ ।’
ग्राउन्ड हृयान्डलिङमा निगमको एकाधिकार हुँदा राम्रो सेवा दिन नसकेको उपाध्यायको आरोप छ । उनले ग्लोवल टेन्डरका लागि उच्चस्तरमा निर्णय गर्न मन्त्री पोखरेललाई सुझाव दिए ।
निगमका अधिकारी भन्छन्- चलखेल शुरु भयो
निगमका अधिकारीहरु ग्राउण्ड हृयान्डलिङ सेवा राम्रो नभएको आरोप स्वीकार्न तयार छैनन् । कमिसनको खेलमा कुनै निजी कम्पनीलाई ग्राउन्ड हृयान्डलिङको जिम्मा लगाउन यस्तो आरोप लगाएको निगम स्रोत बताउँछ । स्रोतका अनुसार एमालेकै केही ठेकेदारहरु विमानस्थलको ग्राउण्ड हृयान्डलिङ आफ्नो कब्जामा पार्न हात धोएर लागिपरेका छन् । पर्यटन मन्त्री पनि एमालेकै भएको मौकामा ठेक्का आफ्नो हातमा पार्न उनीहरुले चलखेल थालेको निगम स्रोतले अनलाइनखबरलाई बतायो ।
‘जहिले पनि सम्झौता अवधि सकिनै लाग्दा यस्तो लफडा गरिन्छ, हाम्रो सेवा नराम्रो भएको भन्दै निजी कम्पनीलाई ग्राउन्ड हृयान्डलिङको जिम्मा लगाउन खोजिएको हो’ निगम स्रोतले भन्यो- ‘सेवाको गुणस्तर सुधार गरिरहेको राष्ट्रिय ध्वजावाहकलाई नदिएर सरकारले कसलाई जिम्मा लगाउने रहेछ ।’
स्रोतका अनुसार सेवाको गुणस्तर सुधार गरेमा निगमलाई पुनः जिम्मा दिने बताइएको थियो । ‘हाम्रो ग्राउन्ड हृयान्डलिङ सेवा अन्तरराष्ट्रिय स्तरको नभए पनि बन्ने प्रयासमा रहेको छ’ निगमका एक कर्मचारीले भने- ‘आइसाको सर्टिफिकेट लिने तयारीमा छौं, आइसाले वल्र्ड क्लास सेवाको मिनिमम रिक्वायरमेन्ट पुगेपछि मात्र यस्तो सर्टिफिकेट दिन्छ ।’
विमानस्थलमा सेवा दिने दर्जनौं स्टेक होल्डर हुँदा पनि निगमलाई मात्र पेलिनु गलत मनसाय रहेको स्रोत बताउँछ । ‘विमानस्थलमा के सेक्युरिटी राम्रो छ त ? ट्वाइलेट राम्रो छ ? वेटिङ रुम वल्र्ड क्लासको छ ? ब्यागेज हस्तान्तरण चुस्त छ ?’ निगमका एक अधिकारीले प्रश्न गरे- ‘हामीलाई मात्र पेल्न खोज्नुको राज कमिसनको खेलमा कुनै निजी कम्पनीलाई ग्राउन्ड हृयान्डलिङ जिम्मा लगाउन खोज्नु नै हो ।’
मन्त्रीले भने- ग्लोबल टेण्डर गर्नुनपरोस्
विमानस्थल महाप्रबन्धकको सुझावपछि मन्त्री उपाध्यायले निगमलाई आफ्नो सेवाको गुणस्तर सधार्न निर्देशन दिए । ‘विमानस्थल व्यवस्थापनले तपाईहरुको सेवामाथि औंला उठायो, तपाईहरु आफ्नो सेवा सुधार्नुस्’ उनले भने- ‘हामीलाई ग्लोवल टेन्डर गर्नु नपरोस् ।’
के हो ग्राउण्ड ह्याडलिङ सेवा ?
विमानस्थमा यात्रुलाई प्रस्थान कक्षबाट जहाजसम्म पुर्‍याउने र जहाजबाट झारेर आगमन कक्षसम्म ल्याउने काम ग्राउन्ड हृयान्डलिङमा पर्छ ।
त्यस्तै बाहिर जान लागेका यात्रुको चेकिङ, ब्यागेज चेकिङ, अशक्त यात्रुलाई हृवीलचेयरको व्यवस्था गरिन्छ । यात्रुको बोर्डिङ इस्यु गर्ने, वेटिङ रुममा राख्ने, र्‍याम्प बसमा चढाएर जहाजसम्म पुर्‍याउने, जहाजमा भर्‍याङ राखेर बोर्डिङ पास चेक गरी यात्रु चढाउने काम पनि निगमले गर्छ ।
यात्रुका ब्यागेज तथा कार्गो चेक गरेर जहाजसम्म पुर्‍याई लोड गर्ने पनि ग्राउन्ड हृयान्डलिङमा पर्छ । त्यस्तै, जहाज उड्नका लागि भन्सार, इमिग्रेसन र टिडिओबाट कार्गो, यात्रु र एयर क्रुहरु प्रमाणित गर्ने काम पनि निगमले गर्छ ।
जहाजको क्षमताअनुसार ब्यागेज तथा कार्गोको लोड मिलाई यात्रु भरेपछि र निगमको रोड मास्टरले अनुमति दिएपछि पाइलटले जहाज उडाउँछ । जहाजको ढोका बन्द गरेपछि जहाजलाई पुसब्याक गरेर धावन मार्गसम्म पुर्‍याउने काम पनि निगमको ग्राउन्ड हृयान्डलिङकै जिम्मामा पर्छ ।
त्यसैगरी बाहिरबाट आउने यात्रुलाई भर्‍याङ राखेर झार्ने, उनीहरुलाई र्‍याम्प बसमा चढाएर अराइभल कक्षसम्म पुर्‍याउने, यात्रुको ब्यागेज र कार्गो जहाजबाट अनलोड गरी अराइभल कक्षमा ल्याई कन्भेयर बेल्टमा राखेर भन्सारमा झार्ने काम पनि ग्राउन्ड हृयान्डलिङ सेवामा पर्ने निगमले बतायो ।

No comments:

Post a Comment