Wednesday, December 9, 2015

दिल्ली धाउनु सिल्लिपन : झलनाथ खनाल

मंसिर २३, २०७२- एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसका केही नेतामा दिल्ली तिर धाउने प्रवृत्ति सिल्लिपन भएको बताएका छन् । उनले यस्तो कार्यले राष्ट्रको हित नहुने तर्फ सचेत गराए । 
चितवनको सौराहामा आयोजित २ दिने विशेष राष्ट्रिय कार्यकर्ता भेला पश्चात केन्द्रिय प्रचार विभागले बुधवार बिहान भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको प्रस्ताव सार्वजनिक कार्यक्रममा बोल्दै नेता खनालले देश भित्रको समस्या देश भित्रै हल गर्नुपर्ने बताए ।
  
‘हाम्रो समस्या हामी आँफै हल गर्न सक्छौं,’ उनले भने, ‘नेपालको आन्तरिक मामिलाहरुलाई विदेशमा पुर्‍याएर विदेश मार्फत समस्या समाधान होस् भन्ने कुरा राष्ट्रिय चिन्तन होइन । यो राष्ट्रघाती चिन्तन हो ।’ यस्ता क्रियाकलाप छाडेर नेपालका राजनीतिक पार्टी एक आपसमा बसेर छलफल गरी निष्कर्ष निकाल्नु पर्ने उनको तर्क थियो । 
‘कहिलेकाँही मत भिन्न्तता हुन्छन् । मत भिन्न्तता भएपनि त्यसलाई समझदारि पूर्वक अगाडी बढाऔं । कुनै पनि समास्याको समाधान निकाल्न नसकिने कुरा हुँदैन । हामी एक आपसमा बसेर नै छलफल गर्नुपर्छ,’ उनले भने । देशको विदेश नीतिमा सम्पूर्ण पार्टीको एउटा नीति हुनुपर्ने उनको सुझाव थियो ।
 
‘कोही दिल्ली तिर धाउने, कोही बेइजिङ तिर धाउने, कोही वासिङटन तिर धाउने । यस्तो प्रवृत्ति देखाउन थालियो भने देश कमजोर हुन्छ,’ उनले भने, ‘देशलाई सवल, सुदृढ, एकतावद्ध बनाउन स्वतन्त्रता, सार्वभौम सत्ता र अखण्डता अक्षुण राख्न नेपालका राजनीतिक शक्तिहरुले विदेश नीतिका सवालमा एकतावद्ध हुन सक्नुपर्छ ।’ 
त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको सीमा क्षेत्रमा रहेका अधिकांश एफएमबाट युद्धका गीत सुनाएर एकलौटी र एकतर्फी गलत प्रचार गर्ने गरेको बताए । ‘खास–खास जिल्लामा सञ्चालित भएका सीमा क्षेत्रका एफएम रेडियोहरुबाट अत्यन्तै गलत, भ्रामक, उत्तेजक, राष्ट्रिय एकतामा आँच पुग्ने, सदभाव विथोल्ने, जनातबीचको सम्बन्धलाई अत्यन्तै प्रभावित पार्ने समाचार, संवादहरु विश्लेषण्हरु प्रस्तुत गर्ने गरीएको छ,’ उनले भने, ‘त्यही भएर नेपाल सरकारसँग माग गर्छु नेपालको संविधानको सत्य यथार्थ कुराहरु रेडियोहरुबाट ल्याउने काम होस् । राष्ट्रिय एकता र सार्वभौम सत्तालाई भौगोलिक अखण्डलाई अक्षुण राख्ने कार्य गरियोस ।’ उनले जातिय सद्भावलाई बलियो बनाउन मिडियाका सञ्चाकलाई बोलाएर सामाग्री दिने कुरामा सन्तुलित पुर्‍याउन सरकारको ध्यान जान जरुरी रहेको बताए ।
  
‘आन्दोलनकारीले पनि जथाभावि काम गरी रहेका छन् । अत्यन्तै उछश्रृंखल, उदण्ड क्रियाकलाप रोक्न आग्रह गर्दछु,’ उनले भने, ‘जनताको भावना, औचित्य र सबै कुराको ध्यानमा राखेर आन्दोलन गर्ने हो, राम्ररी बसौं छलफल गरौं, धाक धम्कीको कुरा छाडौं । ठण्डा दिमागले सोचौं । त्यसपछि मात्र एकअर्काको भावनालाई सुन्न सकिन्छ ।’
 
कार्यक्रममा केन्द्रिय प्रचार विभाग प्रमुख योगेश भट्टराईले सोमबार र मंगलबार चितवनको सौराहामा चलेको पार्टीको विशेष राष्ट्रि्रय कार्यकर्ता भेलाबाट पारित १६ बुँदे प्रस्ताव सार्वजनिक गरे ।
प्रकाशित: मंसिर २३, २०७२


No comments:

Post a Comment