Thursday, December 10, 2015

लोकमानको विदेश भ्रमणमा दसौं लाख निकासा

ओली सरकारले एकै महिनामा सवा करोड सिध्यायो

२०७२ मंसिर २४ गते १२:३१ मा प्रकाशित
 349  1 
  0
KP Oli
२४ मंसिर, काठमाडौं । भ्रष्टाचारको विरोधमा प्रधानमन्त्री केपी ओलीले बिरालोको कथा सुनाए पनि उनकै नेतृत्वमा रहेको सरकार मितव्ययी देखिन नसकेको तथ्यांकले देखाएको छ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहित सरकारी उच्च अधिकारीहरुले भ्रमण तथा स्वागतका नाममा मात्रै एक महिनामै १ करोड २८ लाख ३३ हजार ८ सय ८८ रुपैयाँ सिध्याएका छन् ।
कात्तिक महिनामा मात्रै प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयले ४८ लाख ७७ हजार ६ सय ७६ हजार रुपैयाँ ‘भ्रमण तथा स्वागत’ मा खर्च गरेको छ ।
लोकमानका नाममा लाखौं निकासा
अख्तियारले मात्रै कात्तिक महिनामा ३१ लाख ६ हजार ९ सय ५ रुपैयाँ विशिष्ट व्यक्तिहरुको भ्रमण तथा स्वागतमा खर्च गरेको छ । छुट भएको भ्रमण खर्चसमेत अख्तियारका नाममा निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
Nepal Gov Kartik ko Kharcha
कात्तिक २ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अख्तियारका प्रमुख आयुक्त प्रमुख लोकमानसिंह कार्कीको भ्रमण खर्च अख्तियारका नाममा निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
लोकमानसिंह कार्कीकोे चीन भ्रमणका लागि सरकारले १ लाख ५२ हजार २ सय ३१ रुपैयाँ निकासा गरेको छ । ‘छुट भएको भ्रमण खर्च’ भन्दै २९ लाख ५४ हजार ६ सय ७४ रुपैयाँ निकासा गरिएको छ । यो खर्च कहाँको भ्रमणका लागि हो भने खुलाइएको छैन ।
विदेश धाउँदै ढुकुटी रित्याउँदै
विभिन्न अध्ययन प्रतिवेदनहरुले विदेश भ्रमणलाई कम गर्न र मितव्ययिता अपनाउन सुझाव दिए पनि कार्यान्वयन हुन गरेको छ । एकै महिनामा मन्त्री तथा कर्मचारीहरुले विदेश भ्रमणको सूची हेर्दा यो क्रम रोकिने छाँटकाँट देखिँदैन । अझ यसमा अख्तियारकै प्रमुखसमेत संलग्न भएको देखिएकाले यस्तो कार्य रोकिने अपेक्षा कमैमात्र गर्न सकिन्छ ।
‘भ्रमण तथा स्वागत’ शीर्षकमा अर्थ मन्त्रालयले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयलाई ९ लाख ५६ हजार ६ सय १७ रुपैयाँ निकासा गरेको छ ।
यूरोपियन महिला सम्मेलनमा भाग लिन जाँदा सहभागीहरुले साढे ९ लाख सिध्याएका हुन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयको दुईजनाको टोली इटालीको मिलान शहरमा आयोजित एक्स्पोमा भाग लिन जाँदा भएको खर्च १ लाख २९ हजार ५ सय ९७ रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतको नयाँ दिल्लीमा कात्तिक १४ गते दक्षिण एसियाली आर्थिक सम्मेलनमा भाग लिन गएको आपूर्ति मन्त्रालयको टोलीले २ लाख २७ हजार ३ सय ३४ रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी पर्यटन मन्त्रालयले टर्कीमा आयोजना भएको वार्तामा पठाएको उपसचिव नेतृत्वको टोलीले २ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै परराष्ट्र मन्त्रालयले कमल थापा नेतृत्वको टोली असोज ३० देखि कात्तिक २ गतेसम्म भएको भारतीय विदेश मन्त्रीको निमन्त्रणामा भारत भ्रमणमा जाँदा ६ लाख १६ हजार ९ सय ४५ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै फिजीमा भएको एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको बैठकमा भाग लिन भएको संघीय मामिला मन्त्रालयको टोलीले १६ लाख ३१ हजार ७ सय ५४ रुपैयाँ सिध्याएको छ ।
जेनेभामा हुने मानवअधिकार आयोगको २३ औं अधिवेशनमा भाग लिन जाने उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमण खर्च दोहोरो नपर्ने गरी भन्दै ४८ लाखरुपैयाँ भन्दा बढी रकम उपलब्ध गराउन प्रधानमन्त्रीका कार्यालयलाई निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment