Thursday, December 10, 2015

सडक अबरुद्ध गर्नेलाई छुट दिइन्न : गृहमन्त्री

'परिस्थिति सरकारको काबुमै'

२०७२ मंसिर २४ गते १३:३६ मा प्रकाशित
 20  1 
  0
Shakti-Basnet,-Minister-of-
२४ मंसिर, पोखरा । गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशको परिस्थिति सरकारको काबुमै रहेको दाबी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले मधेसमा आन्दोलन र नाकाबन्दीले समस्या पारेपनि देशको परिस्थिति सरकारको काबुमै रहेको दाबी गरे ।
एमाओवादीका नेता समेत रहेका गृहमन्त्री बस्नेेतले जनताको आकांक्षा र आत्मसम्मानमा आँच नआउने गरी मधेस आन्दोलनको समाधान खोजिने बताए । उनले मधेसको समस्या समाधान गर्ने बल अब सरकारको नभई मधेसी दलको कोर्टमा पुगेको बताए । उनले तराई मधेसको समस्या समाधान गर्दा हिमाल र पहाडलाई चिढ्याउन नहुने बताए ।
गृहमन्त्री बस्नेतले आन्दोलनका नाममा सडक अबरुद्ध गर्न नदिने पनि उनले स्पष्ट पारे । सरकार वार्ताबाटै समस्याको समाधान होस् भन्ने पक्षमा रहेपनि सडक अबरुद्ध गरेर जनजीवन अस्तव्यस्त बनाउन नदिने बताउँदै उनले भने, ‘अब कसैलाई सडक तथा राजमार्गमा बन्द हड्ताल गर्ने कुनै छुट दिइँदैन ।’
गृहमन्त्री बस्नेतले आन्दोलनकारीले नभई छिमेकी राष्ट्रले नै नाकाबन्दी गरेको घुमाउरो पारामा संकेत गरे । उनले भने, ‘नाकाबन्दी आन्दोलनकारीले मात्र हैन, छिमेकी राष्ट्रले पनि गरेको छ, किनकी आन्दोलनकारी नभएको ठाउँमा पनि त नाकाबन्दी छ ।’
विषम परिस्थितिमा जनताको जिउ, धनको सुरक्षाको लागि कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिदै उनले भने, ‘असहज परिस्थितिमा सुरक्षा निकायको भूमिका अझ प्रभावकारी हुनुपर्दछ, कत्ति पनि विचलित नभइकन शान्ति सुरक्षा, अमनचयन कायम गर्नमा सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुस्, कोहि आफ्नो कर्तव्य पालना गर्न नचुक्नुहोस् ।’
गृहमन्त्री आएपछि पोखरामा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । चोक-चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरी भ्यान पनि ‘स्ट्याण्डबाई’ राखिएको छ ।

No comments:

Post a Comment