Thursday, December 10, 2015

संशोधन प्रस्तावमै मधेसको माग सम्बोधन भएकाे छ : पौडेल

मंसिर २४, २०७२- जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक प्रतिनिधित्वबारे आफ्नो दलले अघि सारेको प्रस्तावले नै मधेसका मागको सम्बोधन हुने कांग्रेस नेता रामचन्द्र पौडेलले बताएका छन् । 
‘कस्तो बन्यो संविधान, एकताको अभियान’ कार्यक्रम लिएर पोखरा आइपुगेका उनले बिहीबार पार्टीको चिप्लेढुंगास्थित कास्की जिल्ला कार्यालयमा सो कुरा बताएका हुन् ।
‘संविधान जारी नगर्दा ढिला हुने अवस्था थियो । जारी गर्दा केही असन्तुष्टी छन्,’ उनले भने, ‘तर, कांग्रेसले संविधान संशोधनका लागि अघि सारेको प्रस्तावले मधेसको मागलाई सम्बोधन गर्छ ।’ केही मधेसवादी नेतासँगको कुरा गराइमा यसबारे आफ्नो छलफल पनि भएको बताउँदै उनले भने, ‘उहाँहरु पुरापुर सहमत नभएपनि हाम्रो प्रस्तावले उहाँहरूको मागलाई सम्बोधन गर्छ भन्ने कुरा बुझ्नुहुन्छ ।’ मधेसले उठाएका जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको प्रस्तावमा आँफूहरू सकारात्मक भएको उनले बताए ।
 
‘सबै जाति, क्षेत्र र उत्पीडितका सवालमा कुरा गर्दा हामीले जनसंख्याका आधारमा मात्रै प्रतिनिधित्व दिन पनि भूगोलका हिसाबले सजिलो छैन,’ उनले भने, ‘हिमाल र पहाडमा जनसंख्या कम भएपनि क्षेत्र ठूला छन् । त्यहाँ जनसंख्याका आधारमा मात्रै प्रतिनिधित्व दिनुपर्छ भनेर अड्डी कस्न हुँदैन ।’ 
तनहुँमा आफ्नै निर्वाचन क्षेत्रका केही ठाउँ महन्त ठाकुर र उपेन्द्र यादवकोभन्दा विकट भएको उदाहरण दिँदै उनले समझदारीबाट काम लिनुको विकल्प नभएको भनाइ राखे । ‘भारतमै पनि ४६ हजार जनसंख्या भएका र २९ लाख पनि भएका निर्वाचन क्षेत्र छन्,’ उनले भने, ‘हामीले सबैको अधिकार सुनिश्चित गर्ने हो भने बराबर प्रतिनिधित्वबारे न्याय गर्नु जरुरी छ ।’
मधेसवादी र दक्षिणी छिमेकी केही असन्तुष्टि हुँदाहुँदै पनि संविधान जारी गर्नु समयसापेक्ष भएको दाबी उनको थियो । ‘संसदीय व्यवस्थामा कम्युनिष्टलाई जहिल्यै धक लाग्छ’, उनले भने, ‘ढिला हुँदाहुँदै पनि सहमति बनेका बेला जारी नगर्दा अझै ढिला हुन्थ्यो । त्योबेला ढिला हुँदाहुँदै देश फेलियर हुन्छ भन्ने डर भयो ।’ संविधान समावेसी र नागरिकको हैसियत संरक्षण गर्ने बनेको उनले दोहोर्‍याए । 
‘मन परेकोलाई चुन्ने अधिकारको रक्षा गरेको छ । संतुलित र प्रगतिशील छ,’ उनले भने, ‘हाम्रो संविधानले दक्षिण एशियाली अरु कुनै पनि मुलुकको भन्दा जनतालाई बढि अधिकार सम्पन्न बनाएको छ ।’
मधेसलाई बेवास्ता गरियो 
कांग्रेसले समयमै बुझाउन नसकेकाले पनि मधेसमा असन्तुष्टि भएको बताउँदै उनले भने, ‘अब पनि मधेसवादीसँगको वार्तामा हाम्रो पार्टी नभइ हुँदैन ।’
तत्कालीन राष्ट्रपति रामवरण यादवले आफूहरूलाई ‘मधेस जानुस् कुरा बुझाउनुस्’ भन्दा बेवास्ता गरेर नगएकै कारण ढिलाइ भएको उनले बताए । ‘त्यसबेला कसैले गम्भिरतापूर्वक नलिँदा अवस्था यस्तोसम्म आयो,’ उनले भने, ‘मधेसमा एउटा पुस्तालाई हामी सधैं हेपियौं, शासित भइरह्यौं भन्ने मनोविज्ञान छ । त्यो मनोविज्ञानलाई त्यसो होइन भनेर पार्टीहरूले सम्झाउन/बुझाउन नसकेकै हो ।’
मधेसका जनताको जनमत मधेसमै गएर बुझ्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । ‘अझै पनि नेपाली कांग्रेस भूमिकाविहीन छैन,’ उनले भने, ‘संशोधन प्रस्तावले मधेसलाई सम्बोधन गर्छ ।’
विचित्रको राजनीति 
कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा उम्मेदवारी दिएर पनि सबै पद गुमाउन पुगेको विषयमा आफूले जहाँ पुगेपनि प्रष्ट पार्नु परिरहेको उनले बताए । हिन्दी भनाईको उदाहरण दिँदै भने, ‘हम आह भी भरते हैं तो हो जाते हंै बदनाम, वो कत्ल भी करते है तो चर्चा नहि होता ।’ यही भनाई जस्तै राजनीति विचित्रको भएको उनको तर्क थियो ।
१६ बुँदेलाई भद्र सहमति भनेर गरिएको चर्चा व्यर्थको हल्ला भएको दाबी उनले गरे । ‘त्यस्तो कुनै सहमति भएकै थिएन । हाम्रा बामपन्थीमा हल्ला क्रियट गर्ने क्षमता छ । हाम्रा साथीहरू पनि नबुझी तिनै हल्लाका पछि लाग्छन्,’ उनले भने, ‘सहमति भएकै थिएन भने हल्लालाई नै सत्य मानेर हिँड्ने कुरा पनि भएन ।’ 
आफ्नो चाहना एमाओवादी र मधेसवादीलाई समेटेर सरकार बनाउने भएपनि त्यसमा एमालेले हतार गरेको उनले बताए । ‘अझै पनि हामीले राजनीतिक संकट समाधान पहिल्याउन सक्छौं,’ उनले भने, ‘पार्टीले आफ्नो भूमिकामा प्रष्ट भएर जानुपर्छ ।’ पार्टीको आसन्न महाधिवेसनमा नेतृत्व लिने चर्चा उठेका सवालमा नेता कार्यकर्ताको सहयोग आफूलाई चाहिएको भनाइ पनि उनले राखे ।


No comments:

Post a Comment