मधेस बन्दको मौका छोपी नियुक्ति प्रक्रिया बढाएकामा सोमबार अस्पतालमा तोडफोड भएको थियो
मंसिर २४, २०७२- नारायणी उपक्षेत्रीय अस्पताल तोडफोडमा पक्राउ परेका ३ कार्यकर्ता नि:सर्त रिहाइको माग राख्दै आन्दोलनरत संघीय समावेशी मधेसी गठबन्धनले बुधबारदेखि रिले अनशन थालेको छ।
वीरगन्जको घन्टाघर चोकमा गठबन्धनका राजकुमार यादव, ओमप्रकाश सर्राफ, शिव पटेल, शशिकपुर मियाँ, प्रेम पटेल, महावीर यादवलगायतका नेता कार्यकर्तासहित अनशनमा बसेका छन्। मधेस बन्दको मौका छोपी अनियमित तरिकाले चिकित्सक र कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाएको भन्दै गठबन्धन निकट युवा नेताले सोमबार नारायणी उपक्षेत्रीय अस्पतालमा तोडफोड गरेका थिए।
यता, वीरगन्जमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने अराजक तत्त्वलाई कडा कारबाहीको माग गरेको छ।
तोडफोडमा संलग्न ईश्वर यादव, निशान्त मिश्रा, अनिल गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ। सोमबार बिहान १ दर्जन संख्यामा आएका युवाले अस्पताल विकास समिति अध्यक्ष प्रा.डा. रामदेव तिवारीको कार्यकक्षमा तोडफोड गरेका थिए। अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टको नेम प्लेट, टेबलको सिसा र टेलिफोन तोडफोड गरेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए। नियुक्तिका नाममा अस्पताल विकास समितिका पदाधिकारीले आफन्तलाई अनियमित तरिकाले भर्ना खोजेको गठबन्धनका नेताले आरोप लगाएका छन्।
समिति अध्यक्ष तिवारीले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको दरबन्दी अनुसार भर्ना प्रक्रिया सुरु गरिएको बताए।
कार्यकक्षमा बसिरहेको अवस्थामा आक्रोशित युवाले दुव्र्यवहार गर्दै तोडफोड सुरु गरेको उनले बताए। ‘एक्कासि प्रवेश गरेका उनीहरूले मधेस बन्दका बेला किन भर्ना गर्न लागेको भन्दै तोडफोड सुरु गरे,’ उनले भने। शिशु सघन उपचार कक्ष (एनआईसीयू) का लागि ५ चिकित्सक, ८ स्टाफ नर्स र २ स्वीपर नियुक्तका लागि भर्ना प्रक्रिया थालिएको अस्पताल विकास समिति सदस्य सन्तोष पासवानले बताए। सघन उपचार कक्षका लागि २५ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भइसकेको छ। १२ बेड क्षमता र भेन्टिलेटरसहितको शिशु कक्ष तयार छ। सेवा सञ्चालनका लागि सरकारले ३२ लाख रुपैयाँ छुट्याएको छ।
एनआईसीयू सेवा नहुँदा प्रसूतिका अधिकांश केस अन्यत्र रेफर हुँदै आएका छन्। मध्य तराईको एकमात्र उपक्षेत्रीय अस्पतालमा पर्सादेखि सर्लाहीसम्मका बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। ‘एनआईसीयूको एक दिनको खर्च निजी अस्पतालले २ हजार ५ सय रुपैयाँसम्म लिन्छन्,’ अस्पतालका एक कर्मचारीले भने, ‘सरकारीमा सुरु भए निजीबाट आउने कमिसन रोकिने भएकाले सेवा रोक्न षड्यन्त्र भइरहेको छ।’
यता मधेसी गठबन्धनले अस्पताल विकास समितिले आन्दोलनको भावनाविपरीत राजनीतिक र आर्थिक खेलको आधारमा कर्मचारी भर्ना प्रक्रिया रोकेको दाबी गर्दै आएको छ। गठबन्धनले बिहान पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाको रिहाइ र भर्ना प्रक्रिया रोक्न माग गरेको छ।
प्रकाशित: मंसिर २४, २०७२
No comments:
Post a Comment